रसुवाबाहिरका ट्रक चालकलाई पनि केरुङ जान अनुमतिपत्र जारी गर्ने तयारी  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रसुवाबाहिरका ट्रक चालकलाई पनि केरुङ जान अनुमतिपत्र जारी गर्ने तयारी 


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । रसुवाबाहेकका जिल्लाका ट्रक चालकलाई पनि चीनको केरुङसम्म जान अनुमतिपत्र जारी हुने भएको छ । अध्यागमन विभागको निर्देशनपछि अध्यागमन कार्यालय टिम्मुरे रसुवाले अन्य जिल्लाका ट्रक चालकलाई पनि केरुङ प्रवेशको अनुमतिपत्र जारी गर्न लागेको हो ।

अध्यागमन कार्यालय रसुवाका अनुसार यसै महिनाको अन्तिमबाट केरुङ प्रवेशको पास जारी गर्ने तयारी भइरहेको छ ।

अहिले जिल्ला प्रशासनको अनुमतिका आधारमा रसुवाका स्थानीयहरू एक वर्षसम्म चीनतर्फ कामका लागि बस्न पाउने गरी पास जारी भइरहेको बताइएको छ ।  प्रावधान अनुसार हाल मालवस्तु ढुवानी गर्ने ट्रक तथा कन्टेनर चालकका रूपमा रसुवा जिल्लाका चालकलाई मात्रै केरुङ प्रवेशको अनुमति प्राप्त हुन्छ ।

एउटै जिल्लाका चालकलाई मात्रै माल वस्तु आयात गर्ने अनुमति हुँदा जनशक्तिको अभावको समस्या भएको भन्दै व्यवसायीहरूले अध्यागमन विभागको ध्यानाकर्षण गराएका थिए । चिनियाँ पक्षसँग छलफल भइसकेको भन्दै गत साता विभागले अनुमतिपत्र जारी गर्ने तयारी थाल्न परिपत्र गरेको थियो ।

२०७६ चैतमा कोभिड महामारी देखिएपछि नाकाबाट मानव आवतजावत ठप्प भएको थियो । १८ चैत २०७९ मा नेपाल चीन स्थलमार्ग भएर मानिसहरूको आवतजावत खुला गर्न नेपाल र चिनियाँ पक्षबीच समझदारी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस