बाढीले गरेको कटान रोक्न खटिए सेना र प्रहरी   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाढीले गरेको कटान रोक्न खटिए सेना र प्रहरी  


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण आएको बाढीले रौतहटको मौलापुर नगरपालिका-१ को मर्यादपुर गाउँनजिक पश्चिमी बाँध कटान गरेको छ । उक्त इलाकाको बाँध करिब सय मिटर कटान गरेर खेतमा पसेको बाढीले केरा खेतीमा क्षति पुर्‍याएको छ ।

उक्त क्षेत्रमा बाढीले बिजुलीको एउटा पोल पनि बगाएको छ । बाढी बस्तीमा नपसेको भए पनि उर्लेको भेल देखेर गाउँले त्रासमा छन् । लगातार खेत कटान बढेपछि गाउँलेले स्थानीय प्रशासनलाई गुहारेका छन् ।

उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा अधिकारीको टोलीले कटान नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरेको छ । सुरक्षाकर्मीको टोलीले कटान रोकथाममा खटिएको छ ।

अहिले उक्त क्षेत्रमा बाँसको पाइलिङ गरेर बोरा राख्ने काम भइरहेको प्रशासनले जनाएको छ । 

गत वर्ष पनि यही क्षेत्रमा बाढीले जग्गा कटान गरेको थियो । कटानको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सचेत गराएको छ । कटान गरेको क्षेत्रमा वाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाका प्राविधिकहरू समेत खटिएको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस