सुन प्रकरणको अनुसन्धानमा सीआईबीले माग्यो इन्टरपोलको सहयोग « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सुन प्रकरणको अनुसन्धानमा सीआईबीले माग्यो इन्टरपोलको सहयोग


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोग मागेको छ ।

सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब-ब्युरो र भारतको नेश्नल सेन्ट्रल ब्युरो (दिल्ली) लाई सहयोग माग्दै पत्राचार गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ३ साउनमा बरामद सुन हङकङबाट आएको थियो । त्यसैले सुन पठाउने व्यक्तिहरू र त्यहाँको थप नेक्ससबारे सूचना प्रहरीले हङकङस्थित इन्टरपोलका अधिकारीहरू मागेको छ ।

नेपालमा बरामद सुनको गन्तव्य भारत भएकाले त्यहाँ अधिकारीहरूसँग पनि सहयोग मागिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । साथै, नेपालमा सुनसहित पक्राउ परेका चिनियाँ नागरिकहरू यसअघि भारतमा पनि पक्राउ परेको सूचना प्रहरीले पाएको छ ।

भारतको राजश्व अनुसन्धान निर्देशनालयले चलाएको अपरेशनमा विभिन्न सामग्रीभित्र राखेर आएको सुन बरामद भएको थियो । त्यसबेला हाल नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुमध्ये नै पक्राउ परेको प्रहरीले प्रारम्भिक विवरण फेला पारेको छ ।

प्रकरणमा प्रहरीले चिनियाँ नागरिक ओ फुछङ्, ली वन् सुङ, डिङ सेल्फा, ली नेङ्काई लगायतलाई पक्राउ गरेको छ । सेल्फा र नेङ्काईलाई प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर पक्राउ गरेको थियो ।

उनीहरूसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेस्टुरेन्ट ठमेलको होटेल भियना नजिकै छ ।

प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस