अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित


८ भाद्र २०८०, शुक्रबार


भ्यानकुभर, क्यानाडा । नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत  ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।  

एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको उनको सचिवालयले जनाएको छ । 

यसअघि, मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । 

साथै, उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसङ्ख्याको लागि पानीको श्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका छन् । 

यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा ईमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जङ्गली जनावर तथा प्रजातिहरूको संरक्षण गरेको र सोको नतिजा स्वरूप बाघ तथा गैँडाको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी गराए । 

सो अवसरमा उनले नेपाल विश्वको १० औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरूमा बाढी पहिरो अतिवृष्टि सुख्खा साथै हिमताल विस्फोटको जोखिम समेत बढेको भन्दै विश्वको ध्यानाकर्षण गराएका छन् ।  

नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको तर्फ उनले ध्यानाकर्षण गराए । 

अर्थमन्त्री डा. महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिदैं यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका श्रोत अति प्रभावित मुलुकहरूमा केन्द्रित गर्न अनुरोध गर्दै जबसम्म एकीकृत र समुच्च रूपमा कार्यान्वयन गरिदैंन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा राखे । 

जलवायु परिवर्तन जोखिम उच्च भएका देशहरूको समेत प्रतिनिधित्व गर्दै लगानी आयोजनाहरूको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेगरी कार्यान्वयन गर्नु पर्नेमा उनको जोड छ । 

Tags :
प्रतिक्रिया दिनुहोस