बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


७ भाद्र २०८०, बिहिबार


जलेश्वर । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डको परिकौली चौकमा आज बिहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका- ९ स्थित परिकौली चौकमा ज८प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जलेश्वर नगरपालिका-९ परिकौलीका ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

लोक सेवा आयोग जलेश्वरमा कार्यालय सहयोगी भई काम गर्दै आएका यादव कार्यालयको कामले जनकपुर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पुर्‍याएको थियो । अस्पताल पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमै राखिएको छ । ठक्कर दिने बस र मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस