भ्रष्टाचार गर्ने दुई इन्जिनियर दोषी ठहर, प्रशासकीय अधिकृतसहित तीन जनाले पाए सफाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचार गर्ने दुई इन्जिनियर दोषी ठहर, प्रशासकीय अधिकृतसहित तीन जनाले पाए सफाइ


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । विशेष अदालतले सडक निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै दुईजना इन्जिनियरलाई सजाय सुनाएको छ। एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेकोमा दुई जनामाथि कसुर कायम भएको हो। तीनजनाले भने सफाइ पाएका छन्। 

रुपन्देहीको ओमसतिया गाउँपालिकामा कार्यरत इन्जिनियर लवकुश चाई र सबइन्जिनियर सन्तोष भुसाललाई भ्रष्टाचार मुद्दामा दोषी कायम गर्दै विशेषले मङ्गलवार सजाय सुनाएको हो। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल र सडक ढलान गर्ने उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरबिन्दलाई पनि प्रतिवादी बनाइएकोमा उनीहरूले सफाइ पाएका छन्। 

गाउँपालिकाको वडा नम्बर ४ मटेरिया गाउँको मुख्य सडकमा पिसिसी गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाइमा ढलान नगरी कम मोटाइमा ढलान गरेको भेटिएको थियो। तर, नापी किताब र बिलमा भने समग्र पिसिसी परिमाणमा भन्दा बढी उल्लेख थियो। 

यस क्रममा दुई लाख ६१ हजार आठ सय ५५ रुपैयाँ भ्रष्टाचार भएको भन्दै १४ असार ०७९ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो। विशेषले उक्त रकम बराबर नै भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै त्यसलाई बिगो रकम कायम गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस