काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनाको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छ जना पूर्वसचिवलाई प्रतिवादी बनाएर किर्ते र सङ्गठित अपराधमा मुद्दा चलाउन राय दिएको छ । सीआईबीले मङ्गलवार प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ ।
जग्गा प्रशासन र सार्वजनिक निर्माणसँग जोडिएका निर्णय प्रक्रियालाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउने दायित्व बोकेका दुवै मन्त्रालय भौतिक योजना र भूमिसुधार मन्त्रालयका तत्कालीन प्रशासनिक र राजनीतिक नेतृत्व नै सरकारी जग्गा हिनामिनामा संलग्न रहेको सीआईबीको प्रतिवेदनमा छ ।
पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगो र रविन्द्रमान जोशीलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।
यसैगरी अनुसन्धान प्रतिवेदनमा १८ जना पूर्व सहसचिवसहित, उपसचिव, शाखा अधिकृत, नासु, खरिदार, साक्षी, बिचौलिया-भूमाफिया र तत्कालीन भोगाधिकारी राणा परिवारका २ सहित २३८ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिइएको छ ।