नेकपा एसको आठ बुँदे कार्ययोजना यस्तो छ  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेकपा एसको आठ बुँदे कार्ययोजना यस्तो छ 


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी कामलाई व्यवस्थित गर्न आठ बुँदे कार्ययोजना अघि सारेको छ । मङ्गलवार देखी सुरु भएको सो पार्टीको केन्द्रीय कमिटीको छैटौँ बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको वैचारिक राजनीतिक प्रतिवेदनमा पार्टीले तत्काल गर्ने कामहरूको खाका समेटिएको छ । जसमा सङ्गठनात्मक, विचारधारात्मक र प्रचारात्मक काम मुख्य रहेका छन् । आगामी पाँच महिनापछि महाधिवेशनको तयारीमा रहेको सो पार्टीले विशेष गरी महाधिवेशन केन्द्रित कार्य योजनालाई बढी जोड दिने भएको छ । 

अध्यक्ष नेपालको प्रतिवेदनमा सङ्गठनात्मक काम अन्तर्गत पार्टी सदस्यता वितरण र नवीकरण पहिलो प्राथमिकतामा रहेको छ । जसअन्तर्गत भदौ २० भित्र पार्टी कमिटी र जन वर्गीय पेसागत सामुदायिक सङ्गठनका कमिटीहरूको बैठक बसेर योजना बनाई कात्तिकभित्र पुरानो सदस्यता नवीकरण सक्ने र नयाँ वितरण गर्ने उल्लेख छ । त्यस्तै मंसिर १० भित्र प्रमाणीकरणका लागि केन्द्रीय सङ्गठनमा पठाउने उल्लेख छ । 

त्यसै गरी विचारधारात्मक काममा महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेजको मस्यौदामा छलफल र बहस चलाउने तथा प्रशिक्षण समेत चलाउने भएको छ । त्यसै गरी महाधिवेशन केन्द्रित प्रचारात्मक काममा जोड दिने तथा महाधिवेशनका निम्ति आवश्यक पर्ने आर्थिक सङ्कलन गर्ने योजना अघि सारेको छ । सो पार्टीले महाधिवेशनका लागि सदस्यता शुल्क र लेबी उठाउनुका साथै विशेष आर्थिक सहयोगमार्फत सङ्कलन गर्ने भएको छ । कार्यालय व्यवस्थापन अन्तर्गत हरेक कमिटीले आफ्नो तहको अभिलेख व्यवस्थित राख्नुपर्ने र माथिल्लो कमिटीमा नियमित पठाउनुपर्नेछ । 

समाजवादीले आफ्नो कार्य योजनामा जनजागरण अभियानलाई  पनि प्राथमिकतामा राखेको छ । जसमा भ्रष्टाचार, कमिसन तन्त्र, जातीय विभेद, छुवाछुतजन्य व्यवहारमा जनचेतनामूलक कार्यक्रम जारी राख्ने भएको छ । त्यसै गरी कार्य योजनाको आठ नम्बर बुँदामा आगामी असोज महिनामा पार्टीले उठाउँदै आएका र उठाउनुपर्ने आर्थिक, सामाजिक, शैक्षिक, सुशासनका मुद्दामा अभियान चलाउने भएको छ । जसलाई राष्ट्रव्यापी बनाउने एकीकृत समाजवादीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस