प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठले भने-अदालतमा बिचौलिया र विकृति नियन्त्रणमा कठोर भएर लाग्नेछु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठले भने-अदालतमा बिचौलिया र विकृति नियन्त्रणमा कठोर भएर लाग्नेछु


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा बिचौलियाको प्रभाव रहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि आफू कठोर भएर लाग्ने बताएका छन् । उनले संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा सोमबार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा बिचौलिया र विकृति नियन्त्रणमा कठोर कदम चाल्ने बताएका हुन् ।

अदालतमा हुने विकृति र विसङ्गति तथा बिचौलियाप्रति आफ्नो शून्य सहनशीलता रहने प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठको प्रतिबद्धता छ । ‘बिचौलिया, विकृति र विसङ्गतिमा शून्य सहनशीलता अपनाउनेछु । अदालतमा अनावश्यक भिडभाड नियन्त्रण गर्ने कार्ययोजना रहेको छ, ‘उनले भने, त्यस्ता विकृति, विसङ्गति नियन्त्रणमा लाग्नेछु । अरु पनि विकृति नियन्त्रणमा कठोरताका साथ लाग्नेछु ।’

अदालतमा विकृति र विसङ्गति भएको कुरा सर्वोच्चका यसअघिका प्रतिवेदनले पनि औँल्याएको श्रेष्ठको भनाइ थियो । ‘अदालतमा बिचौलिया, विकृति, विसङ्गति छ भन्ने कुरा पुराना प्रतिवेदनहरूले पनि औँल्याएका छन्, ’उनले भने । कायममुकायम प्रधान न्यायाधीश भएर सर्वोच्चको नेतृत्व सम्हालेदेखि नै अदालतमा हुने अनावश्यक भिडभाड नियन्त्रणका कदम चाल्न थालेको श्रेष्ठले बताए । उनले साउन २० देखि कायममुकायम प्रधानन्यायाधीशको कार्य गर्दै आएका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरका अदालतका न्यायिक र कर्मचारी नेतृत्वलाई बोलाएर टाइमकार्ड लागू गर्न निर्देशन दिएको र त्यो कार्यान्वयनमा आएको पनि श्रेष्ठले बताए । अदालतमा टाइमकार्ड लागू भइसकेको जानकारी दिँदै उनले आगामी दिनमा पनि बिचौलिया नियन्त्रण गर्ने स-सना सुधारका कार्य पनि अगाडि बढाउने उनको प्रतिबद्धता थियो । हाल जिल्ला अदालतमा २० देखि २५ प्रतिशतसम्म भीड कम भएको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस