सुन तस्करीको अनुसन्धानका लागी इन्टरपोलसँग सहयोग माग  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुन तस्करीको अनुसन्धानका लागी इन्टरपोलसँग सहयोग माग 


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीको अन्तरदेशीय सञ्जालको विषयमा अनुसन्धानका लागि इन्टरपोललाई अनुरोध गरिएको बताएका छन् । 

सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो सुन तस्करीको घटनामा विदेशी नागरिकहरूको संलग्नता र त्यसको अन्तरदेशीय सञ्जाल देखिएकाले अनुसन्धानमा सहयोग गर्न इन्टरपोललाई आग्रह गरिएको बताए ।

‘विभिन्न मुलुकका नागरिकहरूको संलग्नता यसमा देखिएको छ । ती देशहरूसँग पनि समन्वय भइरहेको छ, ‘दाहालले भने, ‘यसमा अन्तर्राष्ट्रिय सञ्जाल नै सक्रिय रहेको पाइएकाले त्यसको अनुसन्धानका लागि सहयोग गर्न इन्टरपोललाई पनि अनुरोध गरेका छौँ ।’

साउन २ गते भन्सार हुँदै बाहिरिएको ६० केजी सुन बरामद भएपछि उक्त घटनाले राजनीतिक वृत्तलाई नै तरङ्गित बनाएको छ ।

विपक्षी दल नेकपा एमालेले उच्च सरकारी संलग्नताबिना यति ठूलो परिणाममा तस्करी हुन नसक्ने भन्दै न्यायिक छानबिनको माग गरेको छ ।

एमालेले पछिल्लो समयमा बरामद गरिएको अवैध सुन भित्र्याउने कम्पनीले यसअघि ३२ पटक सामग्री नेपाल भित्र्याएको जनाएको छ । विपक्षी दलले छानबिन समितिको माग गरे पनि सरकारले भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गर्ने जनाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस