हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ। चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।

प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । २२० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा १३२ केभीमा सञ्चालनमा ल्याइने छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताए ।

अब भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउनका लागि पुरानोसहित ३ वटा सर्किट भएका छन् । २२० केभीको लाइनलाई हाल १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्छ । पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।

बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइन निर्माणाधीन छ । उक्त लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौँडाबाट नयाँ बुटवल सबस्टेसम्म २२० केभी प्रसारण लाइन जोडिने छ ।

भरतपुर-बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर छ । प्रसारण लाइनमा २४६ वटा टावर छन् । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस