अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री 


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताएका छन् । 

सोमबार दिउँसो सिंहदरवारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताए।

बैठकमा प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। रेमिटान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजश्व सङ्कलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन। यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे-जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाउँ।’

निजी क्षेत्रलाई विश्वासमा नलिइकन, सहकार्य नगरीकन अर्थतन्त्रमा सुधार ल्याउन सकिन्न भन्नेमा म स्पष्ट छु प्रधानमन्त्रीले भने, अर्थतन्त्र चलायमान गराउन मैले र प्रधानमन्त्री कार्यालयको तर्फबाट जे-जे भूमिका खेल्नुपर्ने हो, त्यो भूमिका म खेल्छु। अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि आफ्नो तर्फबाट भूमिका खेल्नुस्। यहाँ हामी कोही सरकार, कोही निजी क्षेत्र छैनौँ, सबै नेपाली छौँ। देश अप्ठ्यारोमा पर्‍यो भने हामी सबै अप्ठ्यारोमा पर्छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस