तनहुँमा महिलाको नाममा जग्गा पास गर्ने बढे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तनहुँमा महिलाको नाममा जग्गा पास गर्ने बढे


२७ श्रावण २०८०, शनिबार


तनहुँ । गत आर्थिक वर्ष २०७९/८० मा मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार छ सय २८ पास भएको कार्यालयले जनाएको छ ।

गत आवमा जग्गा रजिष्ट्रेशन पास बापत रु २४ लाख चौरासी हजार छ सय दुई राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । महिला, दलित तथा जनजाति, सहिद परिवार, अपाङ्गता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुटको व्यवस्था छ ।

ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या दोब्बर बढी रहेको तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रका नौ सय सत्तरी र सहरी क्षेत्रका एक हजार नौ सय १४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयको भनाइ छ ।

महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्वमा छुट पाउने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए । मालपोत कार्यालय तनहुँले गत आवमा कूल रु ३० करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यो अघिल्लो आवको तुलनामा रु १३ करोड ८२ लाख ७४ हजार छ सय दश कम हो ।

त्यसैगरी आव २०७८/७९ मा चार हजार पाँच सय ४२ लिखत पारित हुँदा रु चार करोड ५५ लाख तीन हजार पाँच सय २५ छुट भएको थियो । सो आवमा रु ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस