फलफूल तरकारीको विषादी परीक्षण रोकिएको छैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फलफूल तरकारीको विषादी परीक्षण रोकिएको छैन


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण कार्य नरोकिएको जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादी अवशेष परीक्षण सुचारु रहेको जनाएको हो ।

यस विभाग अन्तर्गत विभिन्न भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरू काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगन्ज, बेलहिया भैरहवा, कृष्ण नगर, नेपालगन्ज, धनगढी, गड्डाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे रसुवा र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँका प्रयोगशालाहरूबाट भन्सार बिन्दुमै तरकारी तथा फलफूलमा आरबीपीआर विधिबाट जीवनाशक विषादी अवशेष परीक्षण कार्य सुचारु रहेको ब्यहोरा सम्बन्धित सबैमा अनुरोध छ, सूचनामा भनिएको छ ।

विभागले तरकारी तथा फलफूल आयातकर्ताहरूलाई अनिवार्य रूपमा जीवनाशक विषादी अवशेषको परीक्षण गराई मात्र आयात तथा विक्रिवितरण गर्न भन्दै अन्यथा कारबाही हुनेसमेत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस