सिरियामा टेलिभिजन पत्रकार मारिए « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिरियामा टेलिभिजन पत्रकार मारिए


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ । सिरियाको दक्षिणी प्रान्त दारामा बुधबार सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक सिरियाली टेलिभिजन पत्रकारसहित दुई जना सैनिक जवानको मृत्यु भएको छ ।

निजी स्वामित्वमा रहेको सामा टिभीका संवाददाता फिरास अल–अहमद र सशस्त्र सेनाका दुई सदस्य दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बाटोमा छाडिएको बम विस्फोटमा मारिएका राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । आतङ्कवादीहरूले सडकमा बम राखेका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उक्त टेलिभिजनले जनाएको छ ।

दारा राष्ट्रपति बसर अल–असदको शासनविरुद्धको विद्रोहमा खरो उत्रिएको स्थान हो । त्यहाँ रुसको समर्थनमा युद्ध विराम सम्झौता भएपछि उक्त प्रान्त दमास्कसको नियन्त्रणमा आएको हो । यो प्रान्त वर्षौंदेखि हिंसाको चपेटामा परेको छ ।

प्रेस स्वतन्त्रता समूह रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार सन् २०११ मा गृहयुद्ध सुरु भएयता सिरियामा कम्तीमा दुई सय ७९ पत्रकार मारिएका छन् । सिरिया द्वन्द्वले पाँच लाखभन्दा बढीको ज्यान लिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस