सहयोग सङ्कलन गरेर तोक्पेगोलामा  गुम्बा निर्माण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सहयोग सङ्कलन गरेर तोक्पेगोलामा  गुम्बा निर्माण


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउन स्थानीय जुटेका हुन् । 

गुम्बा निर्माण लागत रु दुई करोड बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयवासीको भनाइ रहेको छ । तोक्पेगालामा जन्मिएर अमेरीका पुगेकाले सहयोग सङ्कलन गरेर रु ४५ लाख पठाएपछि गुम्बा निर्माण प्रक्रिया सुरुआत भएको निर्माण समिति अध्यक्ष शेर्पाले बताए । उनका अनुसार गुम्बा निर्माण गर्नका लागि एक जर्मनी नागरिक समेतले रु आठ लाख सहयोग उपलब्ध गराएको छ । 

मिक्वाखोला गाउँपालिकाबाट रु २१ लाख उपलब्ध भएको निर्माण समितिले जनाएको छ । गुम्बा निर्माणका लागि अनुमानित रु दुई करोड लागत भए पनि अहिले रु २५ लाख ऋण रहेको निर्माण शेर्पाले जानकारी दिनुभयो । निर्माण कार्यमा कार्यरत मजदुरका लागि ज्याला दिनबाहेक आवश्यक सामग्री खरिदमा भएको खर्च रु २५ लाख ऋण रहेको उनले बताए । 

गुम्बामा राखिने गौतम बुद्धका प्रतिमा भिन्न दाताबाट जम्मा भएको छ । रु आठ लाखका तीन वटा प्रतिमा, रु आठ लाख ५० हजार र रु पाँच लाख ५० हजारका एक एक गौतम बुद्धका प्रतिमा दाताबाट उपलब्ध भएका छन् । अन्य आवश्यक पुस्तक र सामग्रीसमेत दाताबाट उपलब्ध भएको छ । 

समितिका अनुसार यसै आउँदो आर्थिक वर्षको साउनमा गुम्बाको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ । गुम्बा नियमित पूजापाठ, मन्त्र जब गर्नका लागि लामा व्यवस्थापन गर्नका लागि छुट्टै कोष स्थापना गर्ने योजना रहेको निर्माण समिति अध्यक्ष शेर्पाले बताए । उनले भने, “गुम्बामा लामा व्यवस्थापन गर्नका लागि देश विदेशमा बसोबास गर्ने दातासँग समन्वय भइरहेको छ । गाउँपालिकाले पनि सहयोग गर्दछ भन्नेमा विश्वास लिएका छौ ।”

तोक्पेगोला क्षेत्रका स्थानीय गुम्बा निर्माण निकै महत्वपूर्णरुपमा लिएका छन् । तोक्पेगोला बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्ने बित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि १ किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्त्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो  ।

ताप्लेजुङको पर्यटकीय गन्तव्यमध्ये तोक्पेगोला क्षेत्रको पनि ठूलो स्थान रहेको छ । तोक्पेगोला बस्ती नजिकै सोदु पोखरी रहेको छ । सोदु पोखरी एक धार्मिक महत्त्व बोकेको एक पोखरी हो । प्रत्येक वर्ष सोदु पोखरीमा पूजापाठ गर्न जाने धार्मिक पर्यटकको पनि सङ्ख्या बढ्दै गएको तोक्पेगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताए। 

तोक्पेगाला बस्तीमा गुम्बा निर्माण हुनुलाई धार्मिक प्रतिष्ठाको रूपमा हेरिएको मिक्वाखोला -५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए । गुम्बा निर्माण सम्पन्न गर्नका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ । 

गुम्बामा धर्मग्रन्थ र विशिष्ट धर्म गुरुको भनाइअनुसार गुरु पध्मसम्भवलाई सझिने वा उनको मन्त्र उच्चारणमात्र गर्नाले पनि विघ्नबाधा हट्नुका साथै असिम पुण्य सञ्चय गर्न सकिने जनविश्वास छ । अझ उनको थाङ्का वा प्रतिमा नै स्थापना गर्न सकियो भने त्यसको प्रभवले समस्त प्राणिको उद्धार, पूर्वजन्मको कुकर्मको प्रायश्चित, मानव जीवन सुन्दर, विघ्न बाधारहित शान्तिमय हुने, विश्वमा शान्ति फैलिने र मोक्ष प्राप्त गर्न सकिने जनविश्वास रहिआएको छ 

भौगोलिक-भौतिक दृष्टिकोणबाट पनि यस स्थानलाई धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित गराउने उद्देश्यले गुम्बा स्थापना गरी निरन्तर रूपमा धार्मिक कार्य सञ्चालन गर्नुका साथै आवश्यक संरचना निर्माण गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस