विद्युत् नपुगेका गाउँमा सोलार बत्ती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती


२१ श्रावण २०८०, आइतबार


ढोरपाटन। ढोरपाटन नगरपालिका-९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भइन् । उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकी थिइन् । हाल भने भण्डारीको घर सोलारले उज्यालो बनेको छ । उनले भनिन्, “गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती वितरण गरेपछि अहिले जताततै उज्यालो भएको छ ।” 

ढोरपाटन नगरपालिकाले विद्युत्को पहुँचभन्दा टाढा रहेका गाउँमा सोलार बत्ती वितरण गरेपछि छ्यान्तुङ गाउँ उज्यालो बनेको हो । जिल्लाकै सबैभन्दा दुर्गम गाउँ मानिने ढोरपाटन-९ छ्यान्तुङमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन ।

विद्युतको पहुँच नहुँदा भण्डारीसहित यस गाउँका सयौँ नागरिक अन्धकारमा बस्दै आएका थिए । आफ्नो जीवनकाल टुकी र दियालो बालेरै बितेको भन्दै सोलार बत्ती पाएपछि खुसी हुँदै अब अँध्यारो घर उज्यालो हुन थालेको भण्डारीले बताइन् । आफूहरू सहरबजारभन्दा धेरै टाढा हुँदा अहिलेसम्म बिजुली बत्ती पाल्न नपाएको गुनासो पोख्दै सोलार बत्ती मट्टितेल किन्ने खर्च घट्ने र दियालो जम्मा गर्ने झन्झट कम हुने उउनको भनाइ छ ।

बागलुङको ढोरपाटन–९ छ्यान्तुङ र वडा नं ६ लामखोरियालगायत थुप्रै गाउँका स्थानीय अहिले पनि टुकी र दियालोको भरमा रात बिताउँछन् । भौगोलिक विकटताका कारण यहाँ स्थानीय जलविद्युत् तथा केन्द्रीय लाइनको पहुँच पुग्न सकेको छैन । वर्षौँदेखि अन्धकारमा बस्दै आएका स्थानीयलाई ढोरपाटन नगरपालिकाले सोलार बत्ती वितरण गरेको छ । सोलार बत्ती पाएपछि स्थानीयमा खुसी छाएको छ ।

नगरपालिकाले हालसम्म पनि विद्युत्को पहुँच नपुगेका दुर्गम गाउँ छ्यान्तुङ र लामखोरियाका ८० परिवारलाई सोलार वितरण गरिएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले बताए । नगरप्रमुखको कोषबाट विपन्न परिवारलाई राहतस्वरुप सोलार वितरण गरिएको उनले बताए। ढोरपाटन नगरपालिकाको दुर्गम क्षेत्र अझैसम्म पनि विद्युत नभएर अँध्यारोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी सोलार बत्ती वितरण गरिएको कायतको भनाइ छ ।

विद्युतकै कारण सहज सञ्चारको पहुँचबाटसमेत टाढा रहेका स्थानीयको समस्या समाधान गर्न केन्द्रीय प्रसारण लाइन विस्तारको कामसमेत हुन थालेको उनले बताए ।


नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले छ्यान्तुङ, लामखोरियालगायत अहिलेसम्म विद्युत्को पहुँच नपुगेका स्थानमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । आगामी दुई वर्षभित्रसम्म जिल्लाका सबै स्थानमा केन्द्रीय लाइन पुर्याउने गरी काम गरिरहेको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस