मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै


१९ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।

सडकको दुवैतर्फ पैदल मार्ग निर्माण गर्ने र सो पैदल मार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुने गरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले बताए ।

उनका अनुसार वडा नं ३ को गट्ठाघरचोकदेखि वडा नं २ को सानोथिमि चोकसम्मको सडक अपाङ्गमैत्री भएको छ । थिमिस्थित मध्यपुर अस्पताल हुँदै सूर्यविनायक नगरपालिकाको गाम्चा जाने सडकको फुटपाथ निर्माणसँगै अपाङ्ग मैत्री बनाउने कार्य भइरहेको छ ।

यसैगरी छिट्टै अरनिको राजमार्गको चारदोबाटो चोकबाट बालकोट जाने सडकको हनुमन्ते पुलसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाइने र थिमि चारदोबाटोदेखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल हुँदै सिद्धिकाली चोकसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाउने पहल भइरहेको प्रवक्ता आचार्यले जानकारी दिए ।

नगरपालिकाले सडकको मापदण्डअनुसार सिमाङ्कन गर्ने र सडक विभागले फुटपाथ निर्माण गरी सडकलाई अपाङ्गमैत्री बनाउने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताए । “हाललाई स्थायी संरचना नछुने अस्थायी संरचनालाई नछाड्ने नीतिअनुरुप सडकको मापदण्डबमोजिम सिमाङ्कन नगरपालिकाले गर्ने र ती सडकमा फुटपाथ निर्माण गरी पैदल यात्रीलाई मात्र होइन अपाङ्गता भएकालाई समेत आवतजावत गर्न सहज हुने गरी सडक निर्माण भइरहेको छ”, उनले भने

सडकमा अपाङ्गमैत्री पैदल मार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि भएको स्थानीयवासीको भनाइ थियो । यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको छ । सानोथिमिबाट गठ्ठाघरतर्फ आउँदै गरेकी रिता श्रेष्ठले पैदल मार्गको निर्माणले निर्धक्कसँग हिँड्न पाइएको बताए । “बालबालिकालाई विद्यालय पुर्‍यउिन र विद्यालयबाट फर्किंदा सधैँ यही बाटोबाट पैदल हिँड्नुपर्छ । पैदल मार्ग नहुँदा सडकबाट हिँड्नु पर्दथ्यो । अब सजिलो भएको छ”, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस