जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण


१८ श्रावण २०८०, बिहिबार


भोजपुर । हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पानीका मुहान बिस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ । जलवायु परिवर्तनका कारण देखिएका समस्याको न्यूनीकरण गर्दै जलाधारको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यो कार्यक्रमअन्तर्गत प्रत्येक आर्थिक वर्षमा पोखरी खन्ने काम भइरहेको उनको भनाइ छ ।

‘हामीले ‘एक वडा, एक पोखरी’ कार्यक्रम सञ्चालनमा ल्याएका छौँ’, अध्यक्ष राईले भने, ‘यहाँको जलाधारको संरक्षणसँगै आवश्यक सिँचाइको व्यवस्थापन गर्ने हाम्रो मुख्य उद्देश्य हो । पानीका मुहानको संरक्षणमा सहयोग पुगोस् भन्ने अपेक्षा पनि हो ।’

यो कार्यक्रमअन्तर्गत हालसम्म ३० वटा बढी सार्वजनिक पोखरी निर्माणको काम सम्पन्न भएको अध्यक्ष राईले जानकारी दिए । कार्यक्रमले तत्काललाई भन्दा पनि भविष्यका लागि ठूलो लाभ पुग्ने अध्यक्ष राईको भनाइ छ । ‘यो काम वातावरणको संरक्षणको पक्षबाट निकै महत्त्वपूर्ण छ’, अध्यक्ष राईले भने, ‘जमिनलाई रिचार्ज गर्न यसले भूमिका खेल्दछ । कतिपय ठाउँका पानीका मुहान सुक्दै गएको अवस्था छ । यस्तै अवस्था रहे वर्षौंपछि पानीको हाहाकार बन्ने अवस्था छ । हामीले भावी दिनको आकलन गरेर यो अभियान सञ्चालन गरेका हौँ ।’

पोखरी निर्माणले पानीको मुहान रिचार्जिङ हुने, सिँचाइमा सहजतासँगै आकस्मिकरुपमा हुने आगलागीको समयमा प्रयोग गर्न सकिने उनको भनाइ छ । यस्ता सार्वजनिक पोखरीलाई सयौँको सङ्ख्यामा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । यसअघि खनिएका पोखरी आसपासका पानीको मुहानमा सुक्खा खडेरीमा पनि पानी नसुकेको राईले जानकारी दिए ।

पानीको अभावमा सिँचाइका लागि झेल्नुपर्ने समस्या कम गर्दै पानीको मुहानको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । यो कार्यक्रमअन्तर्गत गत आवमा नौ वटा पोखरी निर्माण सम्पन्न भएको उनको भनाइ छ । एउटा पोखरी निर्माणको लागि रु एक लाख दिने गरेको उनले जानकारी दिए ।

‘यो कार्यक्रमअन्तर्गत बर्सेनि सार्वजनिक पोखरी निर्माण गरिरहेका छौँ’, प्रशासकीय अधिकृत निरौलाले भने, ‘विगतमा खनिएका पोखरीको सकारात्मक प्रभाव देखिन थालेको छ । निर्माण भएका पोखरीमा आकासेपानी सङ्कलनको काम भइरहेको छ । यो कामले मुहानसँगै वातावरणको संरक्षणमा पनि टेवा पुग्ने छ ।’

पोखरीले तत्कालीनरुपमा पानीको अभाव हटाउने र प्राकृतिकरुपमा उम्रिएका मुहानको रिचार्जिङमा सहयोग पुग्ने उनको भनाइ छ । तत्काललाई खास उपयोगीजस्तो नदेखिए पनि भावी पुस्ताको लागि लाभदायक रहेको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ ।

पोखरी निर्माणले स्थानीयलाई तरकारी बाली तथा खेतीपाती गर्नको लागि सहजता भएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए । मानवीय क्रियाकपालपसँगै भूकम्पलगायत प्राकृतिक विपत्तिका कारण धेरै पानीको मुहान सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको उनको भनाइ छ । भविष्यमा देखा पर्न सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर गाउँपालिकाले पोखरी निर्माण अभियान थालेको वडाध्यक्ष विष्टले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस