डेंगुका बिरामीहरूको निःशुल्क उपचार सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डेंगुका बिरामीहरूको निःशुल्क उपचार सुरु


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । धरान उपमहानगरपालिकाले डेंगु महामारीबाट आक्रान्त धरानमा बिरामीहरूको लागि निःशुल्क उपचार केन्द्र सुरु गरेको छ।

प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा धरान १ स्थित पुरानो अस्पतालमा उपमहानगरपालिकाले बुधबारदेखि निःशुल्क उपचार केन्द्र सुरु गरेको हो। 

केन्द्र २५ बेडको सञ्चालन हुने भएपनि तत्काल १० बेड राखेर सुरु गरिएको उपमहानगरका स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपमहानगरले थप १५ बेड व्यवस्थापन गर्नेछ।

प्रदेश स्वास्थ्य मन्त्रालयले एक जना डाक्टर र नर्स पनि उपचारमा सहयोग गर्न धरान पठाएको छ। ओपिडीमा बिरामीको नाम दर्ता गर्ने र आवश्यक जाँच पछि औषधी दिएर घर पठाउने वा आवश्यक परे उपचार केन्द्रमा राखिने डेंगुका फोकल पर्सन विजयकुमार साहले बताए। केन्द्रमा बिरामीको निःशुल्क डेंगु जाँच हुनेछ भने औषधी पनि निःशुल्क वितरण हुनेछ।

उपमहानगरको समन्वयमा डेंगुका बिरामीहरूको लागि यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अलग्गै फिवर क्लिनिक सञ्चालनमा आएको थियो भने प्रतिष्ठानले छुट्टै डेंगु वार्ड पनि सञ्चालन गरेको छ। यसैगरि, उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा पनि निःशुल्क डेंगु परीक्षण गराइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस