सार्वजनिक सवारी साधनमा गुणात्मक परिवर्तन गर्छौँ : प्रधानमन्त्री « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सार्वजनिक सवारी साधनमा गुणात्मक परिवर्तन गर्छौँ : प्रधानमन्त्री


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ उपत्यकाभित्रको सार्वजनिक सवारी साधनमा गुणात्मक र देखिने गरी सुधार ल्याउन जरुरी रहेको बताएका छन् । त्यसका लागि ठूला बस सञ्चालनमा ल्याउनेगरी आवश्यक प्रबन्ध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल थालिसकेको उनले बताए । 

प्रधानमन्त्री निवास बालुवाटारमा यातायात क्षेत्रसँग जोडिएका सरोकारवालाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परीक्षणकै रूपमा भए पनि ठूला बस ‘बिआरटी’ सञ्चालन गरेर यातायातको चाप कम गर्ने तयारी गरिएको बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी असोज १ गतेदेखि रत्नपार्क-सूर्यविनायक खण्डमा बिआरटी सञ्चालनको आवश्यक तयारी गरेको छ । 

मन्त्रालयले कार्यालय समयमा सहज रूपमा यात्रुलाई सेवा दिन सो बस चलाउने तयारी गरेको भए पनि प्रधानमन्त्री दाहालले कार्यालय समयभन्दा पछिको समयमा सो बस चलाएर परीक्षण गर्नसमेत सम्बद्ध अधिकारीलाई निर्देशन दिए । उनले त्यसका लागि आवश्यक पर्ने ट्राफिक सङ्केत, ट्राफिक प्रहरी परिचालन, जनचेतना तथा ट्राफिक बत्तीलगायतको प्रबन्ध गर्नसमेत आग्रह गरे । प्रधानमन्त्री दाहालले सडक सङ्केतको उचित प्रबन्ध गर्न पनि आग्रह गर्दै आवश्यक तयारी गरेर उपत्यकावासीलाई प्रत्यक्ष रूपमा राहत दिन जरुरी रहेको बताए । 

यस्तै, प्रधानमन्त्री दाहालले साझा यातायातले ल्याएको ४० वटा बस सञ्चालन गर्ने वातावरण बनाउन पनि मन्त्रालयलाई निर्देशन दिए । साझा यातायातले आयात गरेको विद्युतीय बस चार्जिङ स्टेसन नभएको भन्दै सञ्चालनमा ल्याउन सकेको छैन । साझा यातायातको पुल्चोकस्थित जग्गामा कति सकिन्छ त्यति नै चार्जिङ स्टेसन निर्माणको प्रबन्ध गर्ने गरी सहजीकरण गर्नुपर्ने उनले जोड दिए।

प्रधानमन्त्री दाहालले उपत्यकामा अन्य स्थानमा पनि चार्जिङ स्टेसन निर्माणको आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए । उनले त्यसबाहेक मुलुकका अन्य स्थानमा पनि चार्जिङ स्टेसन निर्माणका लागि आवश्यक व्यवस्था गरिहाल्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिए ।

विद्युतीय सवारी साधनको प्रयोगमा बढोत्तरी हुँदै गएकाले अत्यावश्यक स्थानमा तत्काल चार्जिङ स्टेसनको प्रबन्ध गरिहाल्नसमेत प्रधानमन्त्री दाहालले जोड दिए । नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेको ५१ वटा चार्जिङ स्टेसनमध्ये एकाध बाहेक धेरै चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस