कर्मचारीको सरुवा पुरस्कृत र दण्डित गर्ने प्रक्रियाको रूपमा लागू भएको जस्तो देखिन्छ : मन्त्री ज्वाला  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कर्मचारीको सरुवा पुरस्कृत र दण्डित गर्ने प्रक्रियाको रूपमा लागू भएको जस्तो देखिन्छ : मन्त्री ज्वाला 


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कर्मचारीहरूको सरुवा प्रणाली पुरस्कृत गर्ने र दण्डित गर्ने प्रक्रियाको रूपमा लागू भएको जस्तो देखिएको बताएका छन् । 

सोमबार एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले आफ्नो नजिकको मान्छेलाई पुरस्कार स्वरूप सजिलो ठाउँमा र अरूलाई दण्डित गरेजस्तो अप्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको भन्दै सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्ने बताएका हुन् । 

‘पुरस्कृत गर्ने र दण्डित गर्ने प्रक्रियाको रूपमा सरुवा प्रणाली लागू भएको जस्तो देखिन्छ । त्यसैले यो सिस्टममा जानु, स्वचालित गर्नुपर्छ ।’ उनले भने ।

कर्मचारीको सरुवा सिष्टममा जानुको विकल्प नरहेको बताउँदै स्वचालित रूपमा हुनुपर्ने बताउँदै उनले भने ‘स्वचालित सिस्टममा जानुको विकल्प छैन, अब चाहिँ नयाँ ढङ्गले सोच्नुपर्छ । यसमा मेरो तर्फबाट निकै धेरै प्रयास हुन्छ’ 

निजामती सेवालाई पूर्वानुमान योग्य बनाउनुपर्नेमा पनि मन्त्री ज्वालाको जोड छ । सरुवालाई स्वचालित प्रणालीमा नल्याएसम्म यो विषय सबैको चिन्ताको विषय हुने बताउँदै उनले भने  ‘दण्ड र पुरस्कारको रूपमा अथवा कसैलाई दुःख दिनुपर्‍यो, सजाय दिनुपर्‍यो भने अप्ठ्यारो ठाउँ पठाउने । कोही लाइक माइन्डेड छ भने त्यसलाई सजिलो ठाउँ ल्याउने । कमसेकम पहिले नै अनुमान गर्न सकिने हुनुपर्छ । मान्छेले अनुमान गरेर ढुक्कले बसोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस