लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल रौशन कुमार राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल राउतविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले लेखापाल राउतलाई सेवाग्राहीबाट एक लाख पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २० गते नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा लेखापाल राउतले एक लाख पच्चीस हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । 

राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा एक लाख पच्चीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस