आयोगका अध्यक्ष दाहाललाई मोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आयोगका अध्यक्ष दाहाललाई मोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन गरेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गरी केहीलाई निलम्बन र केहीलाई नसियत दिएको बताएका छन् । तर उनीहरूको नाम विज्ञप्तिमा खुलाइएको छैन ।

‘पूर्वाञ्चल विश्वविद्यालयको घटनामा नेविसंघमा आबद्ध केही व्यक्तिहरूको संलग्नता पुष्टि भएको हुँदा नेपाल विद्यार्थी सङ्घको विधान, २०२७ (सातौँ संशोधन २०७५) बमोजिम अनुशासनको कारबाही गरी केहीलाई निलम्बित गरिएको छ भने केहीलाई नसियत दिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

२९ जेठमा नेविसंघका केही विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहाललाई क्वार्टरमै पुगेर मोसो दलेका थिए ।

नेविसंघ केन्द्रीय कार्य समितिले घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस