नियमित कार्यालय नआउने कर्मचारीको हाजिरीमा रातो मसी लगाइदिएपछि… « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नियमित कार्यालय नआउने कर्मचारीको हाजिरीमा रातो मसी लगाइदिएपछि…


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिनाजानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने चार जना कर्मचारीको हाजिरी पुस्तिकामा रातो मसी लगाइदिएको छ । 

बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँडेको भन्दै नगरपालिकाका आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैटौँ रामप्रसाद आचार्यको चार/चार दिन, लेखापाल नवराज रिजालको एक दिन र अमिन सुमनकुमार देवको सात दिनको हाजिरी पुस्तिकामा नगरपालिकाले रातो मसी लगाइदिएको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईले आज बिहान १०ः४५ बजे गरेको छड्के अनुगमनका क्रममा बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको पहिचान गरेर हाजिरीमा रातो मसी लगाइएको जनाइएको छ । नगरप्रमुख भट्टराईको निर्देशनमा प्रशासन शाखा सहायक जानुका श्रेष्ठले हाजिरी फाइल चेक गर्दै चार जना कर्मचारीको हाजिरीमा रातो मसी लगाइएको बताइएको छ । 

नियमन गर्दै नियमित ढङ्गबाट सेवा प्रवाहका लागि बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको हाजिरीमा रातो मसी लगाइएको नगरप्रमुख भट्टराईले जानकारी दिए । कतिपय कर्मचारी बेलामा कार्यालय नआउने, कार्यालय आएका कतिपय कर्मचारी पनि कार्यालय समयमा नभेटिनेलगायतका गुनासो सेवाग्राहीबाट आएपछि नगरप्रमुख भट्टराईले छड्के अनुगमन गरेका हुन् । 

नगरप्रमुख भट्टराईले समयमै कार्यालय आउन र पोसाक अनिवार्य लगाउन निर्देशन दिनुहुँदै प्रक्रिया पुर्‍याएर बिदामा बस्न र कार्यालय बाहिर ननिस्कन कर्मचारीलाई सुझाव दिएका छन् । नगरप्रमुख भट्टराईको कारबाहीमा परेका कतिपय कर्मचारी कार्यालयको कामभन्दा बढी राजनीतिक क्रियाकलापमा सक्रिय रहने गरेको बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस