किन विवादित बन्दै छन् मेयर हर्क « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

किन विवादित बन्दै छन् मेयर हर्क


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । आफूले गरेका काम र आफ्ना विरोधीबारे दैनिक सामाजिक सञ्जालमा लेखिरहन्छन् धरानका मेयर हर्क साम्पाङ । साना-साना कुरामा पनि उनी सञ्जालमा टिप्पणी गर्ने गर्दछन् । उनीका ती फेसबुक स्ट्याटसमा सकारात्मक प्रतिक्रिया आउँछन् । तर, साम्पाङका पछिल्ला केही स्ट्याटसमा नकारात्मक प्रतिक्रियाहरू आएका छन् । 

धरान-१४ सिंहदेवी चोक माथि पट्टी बनेको एउटा चर्चलाई लिएर सुरु भएको विवादमा उनी तानिएका छन् । उक्त विवादलाई साम्य पार्न भूमिका खेल्नु पर्नेमा मेयर साम्पाङले संयम गुमाउँदा विवादित बन्न पुगेका छन् । सामाजिक सञ्जालमा उनले लेखेको स्ट्याटस अहिले विवादित बनेको छ भने सदिऔंदेखि कायम रहेको सामाजिक-धार्मिक सहिष्णुता भङ्ग गर्न खोजेको आरोप पनि लागेको छ ।

दिनहुँ ढुङ्गा बोकेका र श्रमदान गरेका तस्बिर र भिडियो सामाजिक सञ्जालमा अपलोड गरेर वाहवाह कमाएका साम्पाङ अहिले त्यही सञ्जालमा आलोचित छन् । कतिपयले श्रमदानको बलमा आफ्ना कमजोरीहरू ढाकछोप गर्न सफल साम्पाङको यथार्थता अहिले उदाङ्गो भएको टिप्पणी गरेका छन् ।

कसरी आए विवादमा

सय वर्ष पुरानो बाल गोपाल मन्दिरको बाटो वारिपारि पार्टी प्यालेस बनाउने भन्दै निर्माण सुरु गरिएको भवन चर्चका रूपमा खडा भएपछि विवाद सुरु भएको हो । स्थानीयले मन्दिर अगाडी चर्च बनाउँदा संवेदनशील हुन सक्ने भन्दै निर्माणको काम रोक्न माग गर्दै मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन् । ख्रिस्चियन समाजले पनि त्यसको काउन्टरमा ज्ञापन पत्र बुझाएको छ । 

वडा र नगरपालिकालाई थाहै नदिई नक्सा पाससमेत नगरी भवन निर्माण गरिएको छ । सम्बन्धित निकायलाई थाहै नदिई भवन निर्माण हुनु र भवन चर्चमा परिणत हुनुले बदनियत देखिएको स्थानीयको आरोप छ । दुवै ज्ञापन पत्र बुझेपछि मेयर साम्पाङले यो विषय आफूभन्दा माथिको निकायबाट निरूपण गर्ने बताएका थिए । तर, त्यसो हुन सकेन ।

धार्मिक गुरु आचार्य श्री निवासले हिन्दुहरूको आस्थाको केन्द्र विजयपुर क्षेत्रमा क्रिस्चियनहरुले धार्मिक अतिक्रमण गरेको र यसलाई धरान उपमहानरपालिकाले संरक्षण गरेको आरोप लगाएपछि साम्पाङ त्यसको प्रतिकारमा उत्रेका हुन् । साम्पाङले उनलाई काउन्टर दिने नाममा समस्त हिन्दु धर्मावलम्बिहरुलाई चोट पुग्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्तिहरू दिइरहेका छन् । फलस्वरूप हिन्दु धर्मलाई लाञ्छित गरेर स्ट्याटस लेख्न थालेपछि मेयर साम्पाङ विवादमा आएका हुन् । उनको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

यति बेला उनका पुराना स्टाटसहरुको उत्खनन् भइरहेको छ । साम्पाङ स्वयम् क्रिस्चियन धर्मका प्रचारक रहेको चर्चा चुलिएको छ । उनले सामाजिक सञ्जाल स्ट्याटसमार्फत दिएका पुराना अभिव्यक्ति हेर्ने हो भने उनी विगतमा सङ्कीर्ण सोच र चिन्तनबाट गुज्रिएका थिए भन्ने स्पष्ट हुन्छ । अहिले उनको विगतको पनि चर्चा हुने गरेको छ । कतिपयले उनको स्ट्याटसमा विगतका अभिव्यक्तिहरूको स्क्रिनसटहरु राखेर जवाफ दिइरहेका छन् ।

जुन कुरामा उनले आफूभन्दा माथिको निकायबाट समाधान खोज्ने भनेर बताएका थिए, अहिले त्यही कुरामा अन्यसँग सहयोग लिनु भन्दा आफैँ प्रतिवादमा उत्रँदा विवादित बनेका छन् । समस्यामा छलफल र बहस गर्नुभन्दा पनि सञ्जालमा पोस्टिने त्यही आउने प्रतिक्रियालाई नै आधिकारिक ठान्ने र धेरै समय त्यतै बिताउन मन पराउने उनको बानी छ । उनको यो बानीलाई लिएर पालिकाका धेरैजसो जनप्रतिनिधिहरू आजित छन् । तर, यस पटक भने उनको यो बानी आफैलाई घातक बनेको छ । धर्मको बारेमा अनावश्यक टिप्पणी गरेर उनले आफ्नो खुट्टामा आफैँ बन्चरो हान्ने काम गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस