उपप्राध्यापक कुटपिट प्रकरण : धरौटीमा छुटेकालाई पुनः पक्राउ गरी सम्पत्ति रोक्काबारे निर्णय गर्न आदेश  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपप्राध्यापक कुटपिट प्रकरण : धरौटीमा छुटेकालाई पुनः पक्राउ गरी सम्पत्ति रोक्काबारे निर्णय गर्न आदेश 


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई कुटपिट गरेर धरौटीमा छुटेकाहरुले अदालती प्रक्रियालाई सहयोग नगरेको ठहर गरेको छ ।

उनीहरूलाई पुनः पक्राउ गर्न र उनीहरूको सम्पत्ति रोक्का गर्नेबारे निर्णय गर्न सर्वोच्चले काठमाडौँ जिल्ला अदालतलाई आदेश दिएको छ ।

प्रतिवादीहरूले जिल्ला अदालतको तारेख छुटाएको र आदेश बमोजिमको अन्तरिम क्षतिपुर्तीसमेत नदिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ८७ आकर्षित हुने(नहुने यकिन गर्न सर्वोच्चले काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको हो । दफा ८७ मा पक्राउ पुर्जी जारी गर्ने र सम्पत्ति रोक्का राख्न सकिने सम्बन्धी व्यवस्था छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले आरोपीहरू सयुज श्रेष्ठ र रविनकुमार लामालाई ५५ हजार धरौटीमा छाड्ने थुनछेक आदेश गरेको थियो ।

त्यसपछि उच्च अदालत पाटनले प्रतिवादीहरूसँग जनही ५ लाख धरौटी माग्ने र पीडित भनिएका उपप्राध्यापक चलाउनेलाई एक लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति बुझाउनुपर्ने आदेश गर्‍यो । त्यसपछि प्रतिवादीहरू त्यस आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

न्यायधीशद्वय सुष्मलता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले साउन ७ गते उक्त आदेश गरेको हो । उच्च अदालतको आदेशलाई भने सर्वोच्चले सदर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस