सुरेश अधिकारीमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुरेश अधिकारीमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । सङ्गीतकार तथा रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारीविरुद्ध रेडियो प्रसारकहरूले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरिएको छ ।

संगीतसम्बद्ध सात संस्था गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, प्रस्तोता समाज, सङ्गीत उद्योग सङ्घ, सङ्गीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी सङ्कलन समाजले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारीविरुद्धको प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले रेडियो प्रसारक तीन संस्थाले लगाएको उक्त प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै उनीहरूले खेद समेत व्यक्त गरेका छन् । यी संस्थाले साउन ४ गते रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक सङ्घले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

रेडियोको प्रतिनिधिमूलक संस्थाबाट साङ्गीतिक सिर्जना प्रसारण नगर्ने भन्ने निर्णयलाई सात संगीतसम्बद्ध निकायले दुर्भाग्यपूर्ण, अभिव्यक्ति स्वतन्त्रतामाथिको नाङ्गो प्रहार र निरकुंश कदमको संज्ञा दिएका छन् । विज्ञप्तिमा प्रतिबन्धको निर्णयलाई फिर्ता नलिइए स्रष्टा र कलाकारका साङ्गीतिक सिर्जनाको प्रसारण रोक्न आफूहरू पनि बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस