फिफा महिला विश्वकप : दक्षिण कोरियालाई हराउँदै कोलम्बियाको विजयी सुरुवात « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

फिफा महिला विश्वकप : दक्षिण कोरियालाई हराउँदै कोलम्बियाको विजयी सुरुवात


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । फिफा महिला विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाले सुखद सुरुवात गरेको छ। मंगलबार भएको खेलमा दक्षिण कोरियालाई २-० ले पराजित गर्दै कोलम्बियाले महिला विश्वकप इतिहासमै दोस्रो जित निकाल्यो।

दक्षिण कोरियालाई पराजित गर्न पहिलो हाफमा गरेको दुई गोल कोलम्बियालाई जितका लागि पर्याप्त भयो। जितसँगै समूह ‘एच’ मा कोलम्बियाले जर्मनी समान ३ अङ्क जोडेको छ।

सिड्नी मैदानमा भएको खेलमा ३० औँ मिनेटमा क्याटलिना उस्मीले पेनाल्टीमार्फत् टिमलाई अग्रता दिलाएकी थिइन्। लगत्तै १८ वर्षीय लिन्डा क्यासेडोले अग्रता दोब्बर बनाइन्।

दक्षिण कोरियन गोलरक्षकले गरेको गल्तीको फाइदा उठाउँदै उनले अग्रता दोब्बर बनाएकी थिइन्। उनी जारी विश्वकपमा गोल गर्ने पहिलो किशोर खेलाडी बनिन्।

पराजयका बाबजुत दक्षिण कोरियाली फर्वाड सेसी फाइर सर्वाधिक कम उमेरमा विश्वकप खेल्ने खेलाडी बनेकी छिन्। उनले १६ वर्ष २६ दिनमा विश्वकपमा डेब्यु गर्दै सर्वाधिक कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमान बनाएकी हुन्। उनी ७७ औँ मिनेटमा सब्स्टिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेकी थिइन्।

एसियाली राष्ट्र दक्षिण कोरियाले अहिलेसम्म खेलेको आफ्नो पहिलो खेलमा पराजित भएको छ। यो उसको विश्वकप उद्घाटन खेलमा चौंथो हार हो।

अब अर्को खेलमा दक्षिण कोरियाले मोरक्कोसँग ३० जुलाइमा प्रतिस्पर्धा गर्नेछ। नकआउट चरणमा स्थान कायमै राख्नका लागि कोरियालाई यो खेल जित्नै पर्ने दबाब रहने छ। त्यस्तै, कोलम्बियाले जर्मनीको सामना गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस