कार्यवाहक प्रधानमन्त्री खड्का र चिनियाँ नेता युआनबीच भेटवार्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कार्यवाहक प्रधानमन्त्री खड्का र चिनियाँ नेता युआनबीच भेटवार्ता


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ । 

रक्षामन्त्रीसमेत रहेका खड्का र युआनबीच सिंहदरवारस्थित रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा दुवै नेताले आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको रक्षा मन्त्रालयले जनाएको छ । 

रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवम् घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरेका थिए । 

उनले मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवम् प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गरेका थिए ।

चिनियाँ नेता युआनले यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको अवसरमा निर्णय भएअनुसारका विभिन्न आयोजना तथा कार्यक्रमहरूको व्यवहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको उल्लेख गरेका थिए । 

उनले नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, सहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवम् पर्यटन विकास, युवाहरूको आदान-प्रदानलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने विचार व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस