एमालेले तोक्यो कोशी र मधेस प्रदेश अधिवेशनको मिति « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमालेले तोक्यो कोशी र मधेस प्रदेश अधिवेशनको मिति


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । मातहतका कमिटी अधिवेशनको तयारी गरिरहेको नेकपा (एमाले)ले कोशी र मधेसको प्रदेशको अधिवेशनको मिति तय गरेको छ।

बुधबार बसेको मधेस प्रदेश सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको एमालेले जानकारी दिएको छ। मधेस प्रदेशको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरमा अधिवेशन गर्ने निर्णय बैठकले गरेको हो।

‘बैठकले पोलिटब्युरो सदस्य जुली महतोको संयोजकत्वमा मधेसमा रहेका समृद्धिका सम्भावना, आर्थिक गतिविधि, सामाजिक जागरण आदिका बारेमा विज्ञसहितको समूहले मधेसका सबै जिल्लामा अन्तर्क्रिया र अध्ययन गरेर तयार गरेको अवधारणापत्र पार्टीमा बुझाउने निर्णय गरेको छ,’ एमालेले बताएको छ।

यस्तै, एमालेमा प्रवेश गर्ने नेता, कार्यकर्ताको व्यवस्थापनका लागि पोलिटब्युरो सदस्य सुमन प्याकुरेलको संयोजकत्वमा रेवती पन्त, सम्बन्धित जिल्लाका इन्चार्ज र अध्यक्ष रहेको कार्यदल गठन गरिएको छ। कार्यदलको प्रतिवेदनको आधारमा पार्टीमा प्रवेश गर्नेहरूलाई व्यवस्थापन गर्ने एमालेको तयारी छ।

एमालेले मधेसमा प्रदेश कमिटीको आफ्नै भवन बनाउने भएको छ। मिथिला भवन निर्माणका लागि लिला श्रेष्ठको संयोजकत्वमा जुली महतो, उमाशङ्कर अरगरिया, राम अवतार यादव, सरोज यादव, दीपेन्द्र ठाकुर, मनोज खड्का, राजकिशोर यादव र अशोक केसी रहेको समिति गठन गरिएको एमालेले बताएको छ।

बैठकले जनसंगठनहरूको प्रदेश अधिवेशन भदौ २० गतेभित्र गरिसक्न र जिल्ला अधिवेशन मंसिरभित्रमा गर्न निर्देशन गरेको छ । बैठकबाट आगामी चैत्रभित्रमा प्रदेश कमिटी, ८ जिल्ला कमिटी, १३६ पालिका कमिटी, एकहजार २७१ वडा कमिटी र ११ हजार ४३९ वटा टोल कमिटीको अधिवेशन तथा गठन/पुनर्गठन सम्पन्न गरि।सक्ने निर्णय पनि गरेको छ।

अहिले मधेस प्रदेशको इन्चार्ज योगेश भट्टराई तोकिएका छन्। यस्तै, एमालेले कोशी प्रदेश कमिटीको अधिवेशन आगामी असोज १२ र १३ गते गर्ने भएको छ। मंगलबार बसेको प्रदेश सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको हो।

अधिवेशन सम्पन्न गर्नका लागि साउन ११ गते बस्ने कार्यालयको बैठकले उपसमितिहरू गठन गर्ने एमालेले बताएको छ। कोशी प्रदेशको इन्चार्ज रघुवीर महासेठ तोकिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस