भीमदत्तका ६ औषधि पसलमा प्रहरीको छापा, चार जना पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भीमदत्तका ६ औषधि पसलमा प्रहरीको छापा, चार जना पक्राउ


३१ असार २०८०, आइतबार


काठमाडौँ । कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाका ६ निजी मेडिकल (औषधि पसल)मा छापा हानेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ७, १३, १० र १६ चार वडाका ६ मेडिकलमा छापा हानेको हो। 

कञ्चनपुर प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत गैरकानुनी रूपमा औषधि बेचबिखन गर्दै आएका औषधि पसलमा कारबाही गरेको जनाएको छ।

कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले विनाइजाजत गैरकानुनी रूपमा औषधि बिक्री-वितरण गर्दै आएका निजी औषधि पसलमा छापा हानेको बताए। 

‘हामीले अवैध मेडिकल पसलमा छापा हान्यौँ,’ प्रहरी प्रमुख थापाले भने, ‘चार जना पक्राउ गर्न सफल भयौँ। दुईजना फरार भएका छन्। बाँकी औषधि बरामद गरेका छौँ। बेच्न नै नमिल्ने औषधि बेच्नेदेखि फार्मेसी दर्ता नगरेर गैरकानुनी रूपमा औषधि पसल चलाएका रहेछन्।’ 

प्रहरी प्रमुख थापाका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका- ७ हल्दुखालबाट विमला उपाध्याय, भीनपा- १० गड्डाचौकीका सुरेश पाण्डेय, मोहन रोकाया र भीनपा-१६ मझ गाउँका राजेन्द्रबहादुर चन्द छन्। 

भीनपा– १३ साझा चौराहका रामबहादुर विष्ट र भीनपा- १६ वसन्तपुरका वीरेन्द्रराज पन्त फरार रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूले विनाइजाजत जोखिमपूर्ण औषधि बेचबिखन गर्ने, लागुऔषध बेच्ने, फार्मेसी तथा औषधि पसलले चिकित्सकको सिफारिसविनै औषधि बेचबिखन गरेको आरोप लगाएको छ। ‘पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘भागेकाहरूको समेत खोजी भइरहेको छ।’ 

उनीहरूविरुद्ध कञ्चनपुर प्रहरी प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधि बिक्री-वितरणविरुद्ध मुद्दा चलाउने जनाएको छ। 
  

Tags :
प्रतिक्रिया दिनुहोस