समाजवादी मोर्चामा हरेक पार्टीबाट चार नेता रहने, यस्ता छन् बैठकका निर्णय  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समाजवादी मोर्चामा हरेक पार्टीबाट चार नेता रहने, यस्ता छन् बैठकका निर्णय 


३० असार २०८०, शनिबार


काठमाडौँ ।  समाजवादी मोर्चाको अध्यक्ष चार-चार महिनामा फेरिने भएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको कार्यविधि आचारसंहिता तय गर्दै त्यस्तो निर्णय गरेको  एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
यसअघिको बैठकले ६ महिनामा नेतृत्व फेरिने निर्णय गरेको थियो । मोर्चामा हरेक दलबाट चार–चार जना नेताले भाग लिन पाउने निर्णय भएको छ । “चार-चार महिनमा मोर्चाको अध्यक्ष फेरिने र एउटा पार्टीबाट चार जना नेताले भाग लिन पाउने निर्णय गरिएको छ,” पाण्डेले भने ।

जसमा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रवेश हमाल, महासचिव घनश्याम भुसाल रहनेछन् । माओवादीबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ रहने भएका छन् । 
जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ नेताहरु रकम चेम्जोङ र गोविन्द चौधरी रहने निर्णय गरिएको पाण्डेले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट महासचिव नेत्रविक्रम चन्द विप्लव  र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड रहने भएका छन् ।  
त्यस्तै प्रदेश र जिल्लासम्म मोर्चा सङ्गठन बनाउन सकिने निर्णय भएको छ । त्यस्तै यसअघि कार्यविधि बनाउन बनाइएको चार सदीस्यीय कार्यदलका नेताहरूलाई सचिवालय सदस्य बनाइएको उनले बताए । जसमा नेताहरु देव गुरुङ, प्रवेश हमाल, राजेन्द्र श्रेष्ठ र खड्गबहादुर विश्वकर्मा रहेका छन् । 
 त्यस्तै सातै प्रदेशमा साउन १२ गतेबाट सन्देश सभा गर्ने निर्णय भएको छ । प्रदेशगत रुपमा मिति भने तय हुन बाँकी छ । 
वाग्मती र सुदुरपश्चिमकोे सभाको व्यवस्थापन एकीकृत समाजवादीले गर्ने निर्णय बैठकले गरेको छ । लुम्बिनीको व्यवस्थापन गर्ने जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले पाएको छ । 
कर्णाली र गण्डकी माओवादी केन्द्र र कोसी र मधेशको व्यवस्थापन जसपाले गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस