पहिरोले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पहिरोले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध


२९ असार २०८०, शुक्रबार


ढोरपाटन । अविरल वर्षाका कारण पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो ।

वर्षा हुँदा बित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने यातायातका साधन ठप्प छन् । पूर्वीरुकुमको रुकुमकोटबाट काठमाडौँ, पोखरा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन पनि सञ्चालन हुन सकेका छैनन् ।

लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष घर्ती मगरको भनाइ छ । उहाँले यस सडकको खण्डको पातीहाल्नेमा रुख ढलेर सडक अवरुद्ध भएकामा अहिले खुलाइसकेको बताए । अध्यक्ष घर्ती मगरले भने, “यो पहिराले हैरान बनायो, पानी पर्नै हुन्न, पर्‍यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ, यताको गाडी यतै, उताको गाडी उतै हुन्छन्, यसले धेरै समस्या बनायो ।

मुख्य सडकसँगै निसीखोलाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको उनले जानकारी दिए । अब बर्खा नरोकिएसम्म उक्त सडक खुलाउन नसकिने घर्ती मगरको भनाइ छ । बुर्तिबाङ बजारबाट कानाबगरसम्म सहजरूपमा यातायातका साधन चल्न सके पनि त्यसभन्दा माथि समस्या हुने गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस