मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ : अभिनेत्री साम्राज्ञी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ : अभिनेत्री साम्राज्ञी


२७ असार २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गरेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भावुक हुँदै आफूले लडाइँ जितेको बताएकी छन् । इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ ।’

अभिनेत्री शाहविरुद्ध अभिनेता भुवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै गाली बैज्जतीको मुद्दा हालेका थिए । उक्त मुद्दा उपर अदालतले दाबी नपुगेको फैसला गर्दै शाहको पक्षमा आज फैसला सुनाएको थियो ।

इन्स्टाग्रामको भिडिओमार्फत केसीले आफूलाई कति पावरफूल छु भनेर देखाउन खोजेको तर अदालतले त्यसलाई बदर गरिदिएको बताएकी छन् । उनले थप भनेकी छन्, ‘मेरो फिल्मी करियरको यात्रा बडो गज्जबको थियो । तर, यात्राका क्रममा यस्तै भयो । तैपनि कसैलाई हर्ट गर्ने मेरो नियत भने थिएन ।’

उनले फिल्म क्षेत्रमा करियर खोजिरहेकाहरूलाई सम्बोधन गर्दै भनेकी छन्, ‘योङस्टरहरूले आफूले काम गर्ने स्थानमा आफ्नो सुरक्षा आफैँले गर्नुपर्छ । र यस्ता घटनादेखि सचेत पनि हुनुपर्छ ।’

केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बैज्जतीको मुद्दा दायर गरेका थिए । त्यस बेला चलचित्र क्षेत्रमा नेपोटिजमको बहस उठेको थियो । केसी र शाह वाक युद्धमा उत्रिएका थिए । केसीले ‘जुन थालमा प्वाल पार्‍यो त्यही थालमा दुलो पार्ने’ भनेर आरोप लगाएका थिए भने शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस