सचिव बढुवाका लागि वरिष्ठ सहसचिव लक्ष्मी बस्नेतको नाम सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव लक्ष्मी बस्नेतको नाम सिफारिस


२४ असार २०८०, आइतबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका लागि एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव लक्ष्मी बस्नेतको नाम सिफारिस गरेको हो । बस्नेत महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत छिन् । 

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव बस्नेतको नाम मात्रै सिफारिस भएको हो ।

चौथो बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएका थिए ।

सम्बन्धित समाचार : घनश्याम उपाध्याय सचिवमा बढुवा

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । मन्त्रिपरिषद्को बैठक सम्भवतः मङ्गलवार अपराह्न ४ बजे बस्नेछ । 

बस्नेतलाई बढुवा गर्ने निर्णयसँगै दुई सचिवको पदस्थापन र केही सचिवको सरुवा हुनेछ । प्रशासन खास स्रोतका अनुसार बस्नेतको बढुवासँगै गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन हुँदैछ भने त्यहाँका प्रमुख सचिव रविलाल पन्थ २० महिना पछि संघीय राजधानी आउँदै छन् । यसैगरी अघिल्लो मन्त्रिपरिषद्ले सचिवमा बढुवा गरेका घनश्याम उपाध्याय बागमती प्रदेशको प्रमुख सचिवमा जाँदै छन् भने त्यहाँका प्रमुख सचिव मुकुन्द निरौला(मुनि) पनि १७ महिना पछि उपत्यका पस्दैछन् । 

सचिव बढुवासँगै पहिलो पदस्थापनका रूपमा प्रदेश प्रदेश सचिव खटाइँदै आएकोमा पछिल्लो समय पन्थ र निरौला निकै लामो समयसम्म प्रदेशमा अड्किएका छन् । 

पदस्थापन र सरुवा व्यवस्थापनका क्रममा अन्य सचिवहरू पनि मिलाउनु पर्ने हुन सक्ने प्रशासन सिंहदरवार विशेष ब्युरो बताउँछ । त्यसो भएमा सरुवा हुने सचिवको संख्या बढ्न सक्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस