फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान


२१ असार २०८०, बिहिबार


काठमाडौँ । कालिकोटको तिलागुफा नगरपालिकाले फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकामा स्याउ र ओखरको राम्रो खेती हुने भएकोले ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको हो ।

उक्त नगरपालिका कर्णालीकै राम्रो स्याउ र ओखर पकेट क्षेत्र भएका कारण ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकामा रहेका कृषिको अवस्था, किसान पहिचान र प्राथमिकता क्षेत्र पहिचान गरी आवश्यक रणनीति तयार गर्न कृषि गुरुयोजना निर्माण गरेर ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न थालिएको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । “नगरपालिकाभित्रको भू-बनोटको अध्ययन प्रतिवेदनबमोजिम गरिएको भू-उपयोग क्षेत्र वर्गीकरणका आधारमा कृषिमा आधुनिकीकरण र आधुनिक तरिकाले उत्पादन वृद्धि गर्ने नीति लिएका छौ”, उनले भने, “खाद्यान्न, फलफूल र तरकारी बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न उन्नत जातको बीउ, आवश्यक स्रोत र सीप प्रदान गर्ने व्यवस्था गरिनेछ ।”

फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर एक बगैँचा’ अभियानलाई सञ्चालन र यसका लागि किसानलाई आवश्यक प्राविधिक आर्थिक सहयोग प्रदान गर्न कार्यविधि बनाउने तयारी गरिएको नगर प्रमुख उपाध्यायले बताए। “यहाँ स्याउ र ओखर धेरै उत्पादन हुने भएकाले कृषकले उत्पादन गरेका वस्तुको संरक्षण र भण्डारण गर्न शीत गृह निर्माण गर्नेछौ”, उनले भने, “नगरपालिकाभित्र उत्पादन हुने रैथाने प्राङ्गारिक बाली जस्तै स्याउ, ओखर, सिमी, मार्सी चामल, चिनु, कागुनु, जौ, मकै आदिलाई कृषकबाट नगरपालिकाले खरिद गरी बजारीकरणका लागि सुनिश्चित गर्ने तयारी थालेका छौ ।”

‘एक घर पाँच फलफूलका बिरुवा’ कार्यक्रम लागू गरिएको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘एक घर, एक बगैँचा कार्यक्रममा त छँदैछ । त्योसँगै एक घर, पाँच फलफूलका बिरुवा कार्यक्रम लागू गरेका छौ”, उनले भने, “भौतिक पूर्वाधार विकास र वातावरणबिच सन्तुलन कायम राख्न नगरपालिकाको लगानीमा हुने भौतिक पूर्वाधार निर्माणमा अनिवार्यरुपमा बिरुवा रोप्नुपर्ने नीति बनाएका छौ ।”

Tags :
प्रतिक्रिया दिनुहोस