सकियो वानएक्स बेट प्रकरणमा ८ कलाकारमाथिको अनुसन्धान, प्रहरीले बुझायो प्रतिवेदन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सकियो वानएक्स बेट प्रकरणमा ८ कलाकारमाथिको अनुसन्धान, प्रहरीले बुझायो प्रतिवेदन


२० असार २०८०, बुधबार


काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरमाथिको अनुसन्धान सकेको छ ।

काठमाडौँ प्रहरीका अनुसार अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिलसमक्ष बुझाइएको छ।

प्रहरीले अनुसन्धानपछि सरकारी वकिललाई कस्तो राय दिइएको छ भन्ने उनले खुलाएनन् । सरकारी वकिलले प्रतिवेदन अध्ययन गरेर अदालतमा अभियोग पत्र दर्ता गर्नेछ ।

प्रहरीले यो प्रकरणमा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४, ५ र ६ बमोजिम सजाय मागदाबी गर्न सुझाएको छ । प्रोमो कोड प्रयोग गरेर वानएक्स बेट प्लेटफर्मको गैरकानुनी ढङ्गमा प्रचारप्रसार गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले सट्टेबाजी गर्ने कम्पनीबाट पैसा समेत लिने गरेको प्रहरीले जनाएको थियो ।

गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जीडी)लाई पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस