अन्तरजातीय विवाह गर्दा घरमा आगजनी गर्नेविरुद्ध मुद्दा दर्ता, थप अनुसन्धान हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अन्तरजातीय विवाह गर्दा घरमा आगजनी गर्नेविरुद्ध मुद्दा दर्ता, थप अनुसन्धान हुँदै


१८ असार २०८०, सोमबार


काठमाडौँ । जुम्लामा आफ्नी बहिनीलाई भगाएर बिहे गरेको निहुँमा दलित समुदायका केटाको घरमा आगजनी गर्ने हिम्मत गिरीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण बदला लिने उद्देश्यले घरमा आगजनी गरिएको भन्दै जिल्लाका दलित अधिकारकर्मी र संघसंस्थाहरूले दबाब बढाएपछि प्रहरीले आगो लगाउने गिरीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

तातोपानी गाउँपालिका-४ का गिरीले आइतबार बिहान ४ बजे सोही गाउँमा रहेको केटाको घरमा आगो लगाइदिएका थिए । उनलाई प्रहरीले आइतबारै नियन्त्रणमा लिएको थियो । हिम्मतसँगै केटीका बुबा श्रीराम गिरी र काका नारायण गिरीविरुद्ध पनि किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

त्यसक्रममा उनले आफूले रिसको झोँकमा आएर आगो लगाएको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । उनीविरुद्ध ‘आपराधिक उपद्रव र जातजातिका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर’मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए ।

दुई वर्षको प्रेम सम्बन्धपछि एकै गाउँका मुकुन्द नेपाली र बसन्ती गिरीले भागेर विवाह गरेका थिए । उनीहरूले भागेर विवाह गरेको ४ दिनपछि केटीका दाजु हिम्मतले मुकुन्दको घरमा आइतबार बिहान आगो लगाइदिएका हुन् । घरमा कोही नभएका कारण मानवीय क्षति नभएपनि घर पूर्णरुपमा जलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस