भ्रष्टाचारविरुद्धको अनुसन्धान रोकिन्न : प्रधानमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचारविरुद्धको अनुसन्धान रोकिन्न : प्रधानमन्त्री


१६ असार २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कामले थप तीव्रता पाउने बताएका छन् ।

भ्रष्टाचार देशको विकराल समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण वा ललिता निवास प्रकरण यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए ।

शनिवार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भने, ‘बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ ।’

अहिले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

आफ्नो भारत भ्रमण ऐतिहासिक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएको बताए ।

उनले भने, ‘भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो।यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेको छैन ।’

पारवहन सन्धि पुनरावलोकन, विद्युत् व्यापार सम्झौता भारत भ्रमणका महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए ।

आफूले राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको दाबी गर्दै प्रचण्डले छिट्टै चीनको भ्रमण गर्ने गरी तयारी भइरहेको बताए ।

चीन भ्रमणमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उनले बताए । उनले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी समेत गरे ।

उनले भने, ‘यो कसैले हिलाएर हिल्दैन। हामी समझदारीका साथ अगाडि बढ्छौँ।’

एयर रुटका विषयमा भारतसँग कुरा भइरहेको र चीनमा पनि यो विषयमा छलफल हुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस