कोशी प्रदेशमा पहिचानको नाममा अराजक गतिविधि भइरहेको छ : मन्त्री शर्मा « प्रशासन
Logo २५ जेष्ठ २०८१, शुक्रबार
   

कोशी प्रदेशमा पहिचानको नाममा अराजक गतिविधि भइरहेको छ : मन्त्री शर्मा


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कसैलाई पनि जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन् । 

शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताए । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीवार गृह जिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो । त्यही विषयमा मन्त्री शर्माले सरकारले अराजक गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताइन् । 

उनले भनिन्, ‘पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा आन्दोलनका क्रममा एक जनाको ज्यानसमेत गयो । प्रधानमन्त्रीज्यूले बालुवाटार बोलाएर यस्ता आन्दोलन नगर्न पनि आग्रह गर्नुभयो । तर पछिल्ला केही दिनमा अराजक गतिविधि भइरहेका छन् । कसैले पनि लोकतन्त्रमा आफ्ना कुरा राख्न पाउँछ, आफ्ना अधिकारको पक्षपोषण गर्न पाउँछ तर त्यसका नाममा कसैले कसैलाई जिल्ला प्रवेश निषेध गर्ने भन्ने कुरा राम्रो कुरा होइन । त्यो अराजकतामा जानु हुँदैन।’

Tags :
प्रतिक्रिया दिनुहोस