कोशीमा ठूलो दलको हैसियतमा सरकार गठनको आह्वान गर्न एमालेको माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोशीमा ठूलो दलको हैसियतमा सरकार गठनको आह्वान गर्न एमालेको माग


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गरेका छन्।

प्रदेश प्रमुखको कार्यालय पुगेका एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा २ प्रयोग भइसकेका कारण उपधारा ३ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गरेका हुन्।

नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशमा संविधानको धारा १६८ (२)को प्रयोग भइसकेका कारण उपधार ३ अनुसार सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरिएको जानकारी दिए।

उनका अनुसार दुई कारणले धारा १६८ (२) अनुसार प्रदेशमा सरकार गठन हुन सक्दैन। एउटा धारा १६८ (२)को अभ्यास भइसकेको छ। अर्को सभामुख कुनै पनि दलको जिम्मेवारीमा नरहने भएका कारण माओवादीले सरकार गठनका लागि सदस्य संख्यामा सभामुखलाई गणना गर्न मिल्दैन। सभामुखलाई गणना गर्न नमिल्ने भएकाले विपक्षी गठबन्धनसँग बहुमत पुग्दैन। यी दुई कारण संविधानको धारा १६८ को २ अनुसार सरकार गठन गर्न मिल्दैन। यदि धारा १६८ (२) बमोजिम सरकार गठनको प्रक्रिया अघि बढे कानुनी उपचार खोज्ने भण्डारीले बताए।

संविधानको धारा १६८ को २ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था उल्लेख छ। उपधारा ३ मा प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ। कोशी प्रदेशसभाको सबै भन्दा ठूलो दल नेकपा एमाले भएका कारण पुनः सरकारमा जान एमालेले प्रयास थालेको छ। शुक्रबार कोशी प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव असफल भएको छ।

मुख्यमन्त्रीले विश्वासको मत नपाएसँगै कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस