आवश्यक परे मध्यावधिमा जान्छौँ : काँग्रेस नेता थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आवश्यक परे मध्यावधिमा जान्छौँ : काँग्रेस नेता थापा


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यक परे कोशीमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् ।

प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले अहिलेको सरकारलाई विश्वासको मत भने नदिने स्पष्ट पारे ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वाभाविक रहेको उनको प्रतिक्रिया छ । उनले त्यसको जवाफ सांसदबाटै दिने बताए ।

‘बरु प्रदेश मध्यावधिमा गयो भने फेस गरौँला । मध्यावधिमा जानु ठूलो कुरा भएन । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ’, थापाले भने, ‘त्यसका लागि ४ दल (काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा)बीच एक भएर अघि बढ्ने सहमति भएको छ । सहमति अक्षरसः पालना हुन्छ । त्यसमा कुनै शङ्का गर्नु पर्दैन ।’

नेता थापाले प्रदेशको जनमत नै अलि असहज खालको प्राप्त भएकाले यो अवस्था आएको उल्लेख गरे । जनमतका आधारले मध्यावधिमा जानुपर्ने अवस्था आउन सक्ने उनको सङ्केत थियो ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । उनलाई राप्रपाको साथ छ । सत्तारुढ दलसँग ४६ सांसद छन् । विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ नै सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस