सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ


११ असार २०८०, सोमबार


महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसन अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन सुगरको अवैध कारोबार र दुर्व्यसन अखडा बन्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त)मा सुदूरपश्चिममा प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा सात सय ५४ जनालाई पक्राउ गरेको छ । जसमा १७ जना भारतीय नागरिक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले जनाएको छ । आर्थिक वर्ष २०७६र७७ मा सुदूरपश्चिम प्रदेशमा लागुऔषध मुद्दामा दुई सय ७० जना पक्राउ पर्नुका साथै सोसम्बन्धी एकसय ७१ मुद्दा दर्ता भएका थिए । पछिल्लो समय समाजको तल्लो तहसम्म लागुऔषध ब्राउन सुगर, चरेशलगायतको कारोबार र सेवनकर्ता बढ्दै गएको देखिएको छ ।

तीन वर्षअघिको तुलनामा सुदूरपश्चिममा लागुऔषध मुद्दामा पक्राउ सङ्ख्या र मुद्दाको सङ्ख्या हेर्दा ठूलो सङ्ख्याले बढेको पाइएको छ । कैलाली र कञ्चनपुरमा भारतसँगको खुला सीमानाका कारण ब्राउन सगुरको आयात र अवैध कारोबार बढ्दै गएको प्रहरीको भनाइ छ । गत साउनदेखि जेठसम्म सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रहरीले एक किलो दुई सय ८८ ग्राम आठ सय ९२ मिलिग्राम बाउनसुगर बरामद गर्नुका साथै ४८ किलो आठ सय छ ग्राम चरेश र एक सय चार किलोग्रामभन्दा बढी चरेश बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले सुदूरपश्चिममा प्रहरीले लागुऔषध न्यूनीकरण र अवैध ओसारपसार नियन्त्रणका लागि स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रमदेखि कारबाहीको दायरामा ल्याउनेसम्मको काममा सक्रिय रहेको बताए । “भारतसँगको खुला सिमाना, नेपाल–भारतमा लागुऔषध कारोबारको सञ्जालका कारणले यो समाजमा फैलिँदै गयो”, प्रहरी उपरीक्षक चौधरीले भने, “पहाडी जिल्लाबाटसमेत सोझै भारतमा सम्पर्क गरेर लागुऔषध भित्र्याउने गरेको पनि पाइयो ।”

उनले प्रदेश प्रहरीको अगुवाइ र धनगढी उपमहानगरपालिकाको सहकार्यमा फूलबारीमा सुधार केन्द्र निर्माणको प्रक्रिया चलिरहेको जानकारी दिए । “हरेक दिन लागुऔषधसहित तीनदेखि पाँच जना पक्राउ परेकै छन्”, उनले भने, “जनचेतना, कानुनी कारबाही र सुधार केन्द्र गरी प्रहरीले तीन वटा कोणबाट यसको नियन्त्रणका लागि प्रयासरत छ ।” प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७र७८ मा यहाँ लागुऔषध मुद्दामा तीन सय ९४ जना पक्राउ पर्नुका साथै दुई सय ५३ वटा मुद्दा दर्ता भएका थिए आव २०७८र७९ मा यहाँ तीन सय ५३ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भए भने पाँच सय ६३ जना पक्राउ परेका छन् ।

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा एक किलो ५६ ग्राम ब्राउन सुगर, एक सय १२ किलोग्राम चरेस र एक किलो पाँच सय ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियो । यहाँस्थित रिकभरिङ नेपालका केन्द्रीय सदस्य एवं राष्ट्रिय समाज कल्याण सङ्घमा लागुऔषधको क्षेत्रमा लामो समयदेखि कार्यरत नवराज पाण्डेयले सुदूरपश्चिममा मात्रै लागुऔषध दुरुपयोगकर्ताको सङ्ख्या तीन हजारभन्दा बढी रहेको बताए ।

“ब्राउन सुगरको अवैध व्यापार यहाँका गाउँबस्तीसम्म पुगिसक्दा युवापुस्ता नराम्ररी प्रभावित छ”, पाण्डेयले भने, “लागुऔषध नियन्त्रणका लागि राज्यबाट नीति योजना बने तर ठोसरुपमा कार्यान्वयनको जोड दिइएन ।” उनले लागुऔषधकै कारण सामाजिक अपराध बढ्नुका साथै मानसिक रोगीको सङ्ख्या वृद्धि भइरहेको बताए । “लागुऔषधको ओभरडोजकै कारण ज्यान गुमाएका धेरै उदाहरण सुदूरमा छन्”, उनले भने, “यतिसम्म कि कारागारमा रहेको छोरालाई ब्राउन सुगर दिन जाँदा आमा पक्राउ परेको घटना यहाँ देखिए ।”

उनले सामान्यरुपमै लागुऔषध पाउन थालेका कारण यसको दुरुपयोगकर्ता सुदूरपश्चिममा बढिरहेकोप्रति सबैको चिन्ता र चासो हुनु नपर्नेमा जोड दिए । “चलचित्रमा सुन्ने गरेको ब्राउन सुगर अहिले यहाँका गाउँबस्तीमा पाउन थालेको घटनाले गम्भीर भएनौँ भने अवस्था चिन्ताजनक आउन सक्छ”, उनले भने, “यसको न्यूनीकरणका लागि सबैको हातेमालो अति आवश्यक भइसक्यो ।”

Tags :
प्रतिक्रिया दिनुहोस