आयातकर्ता र वितरकको लेबल नलगाएको वस्तु साउन १ देखि जफत गरिने  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आयातकर्ता र वितरकको लेबल नलगाएको वस्तु साउन १ देखि जफत गरिने 


७ असार २०८०, बिहिबार


काठमाडौँ । भन्सार विभागले साउन १ गतेदेखि आयात हुने हरेक मालवस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन पत्राचार गरेको छ । विभागले यस विषयमा बुधबार सम्बन्धित निकायहरूलाई जानकारी गराएको हो ।

आर्थिक विधेयक २०८० ले पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तु प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने व्यवस्था गरेको छ ।

त्यसरी लेबल नगरी बजारमा बिक्री वितरणको लागि पठाएको पाइएमा अनुगमन गरी त्यस्ता मालवस्तु जफत हुने व्यवस्था आर्थिक विधेयकमा छ ।

असार मसान्तमा आर्थिक वर्ष २०७९-८० सकिनै लाग्दा त्यसअघि विभागले सरोकारवालाहरूलाई सोहीअनुसार अघि बढ्न आग्रह गरेको छ ।

यस विषयमा विभागले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल समुद्रपार निकासी पैठारी सङ्घ, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, हिमालय सीमापार वाणिज्य सङ्घ, नेपाल फ्रेट फरवार्डस एसोसिएसन, नेपाल भन्सार एजेन्ट महासङ्घ र राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपाललाई ताकेता गरेको छ ।

“आर्थिक विधेयक, २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा (१), (२), (३) र (४) को व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने गराउने विषयमा सबै सरोकारवाला निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएको छ,” विभागले भनेको छ, “प्रस्तुत सन्दर्भमा विधेयकको उल्लिखित दफा १८ को उपदफा (४) मा संवत् २०८० साल साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तु प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनु पर्नेछ ।”

विभागले अघि भनेको छ, “त्यसरी लेबल नलगाइ बजारमा बिक्री वितरणको लागि पठाएको पाइएमा अनुगमन गर्ने अधिकारीले त्यस्ता मालवस्तु जफत गर्न सक्नेछ भन्ने व्यवस्था रहेकोले उक्त व्यवस्थाको जानकारी तहाँ सम्बद्ध सबै व्यावसायिक निकायहरूलाई गराइदिन आदेशानुसार अनुरोध छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस