कानुनमन्त्रीलाई योगेशको प्रश्न-सदाचारको पक्षमा उभिनेले कसरी हस्ताक्षर गर्न सक्नुभयो ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कानुनमन्त्रीलाई योगेशको प्रश्न-सदाचारको पक्षमा उभिनेले कसरी हस्ताक्षर गर्न सक्नुभयो ?


६ असार २०८०, बुधबार


काठमाडौँ। नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

सरकारले चलाउनेविरुद्ध ज्यान गर्ने उद्योगअन्तर्गतको मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहिनता निम्त्याएको उनको भनाइ छ । उनले ‘सदाचारको पक्षमा सधैँ उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नुभयो ?’ भनी प्रश्नसमेत गरे ।

बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले देश बनाउने जिम्मेवारी पाएको काँग्रेस र एमाले जस्ता ठूलो पार्टीका प्रतिनिधिहरूले नै मुलुकमा दण्डहीनताको स्थिति सृजना गर्ने काम गर्न नहुने बताए ।

‘प्लिज, तपाईँले यो निर्णय फिर्ता लिनुस् । र, तपाईँले आफ्नो पुरानो प्रतिबद्धता, मान्यता हो । त्यसमा उभिनुस् । त्यसले नै हामी जुन पार्टीलाई प्रतिनिधित्व गरिरहेका छौँ नेपाली काँग्रेस, नेकपा एमाले । यस्ता ठूला राजनीतिक दलहरूले नै यस्ता बेथितिहरूको, दण्डहीनताको स्थिति तपाईँ-हामीले नै सृजना गर्ने हो भने यो देश कसले बनाउँछ ?, भट्टराईले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस