सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न माग


६ असार २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का सांसद अच्युतप्रसाद मैनालीले बारास्थित ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

सो क्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्त्विक महत्त्वको सम्पदा फेला परेका उनले उल्लेख गरे । सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उपयुक्त हुने उनको भनाइ छ ।

बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकको शून्य समयमा सांसद मैनालीले सो क्षेत्रलाई प्राचीन स्मारक संरक्षण ऐनअनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ पनि सरकारलाई सचेत गराए ।

“बारा जिल्लाको सिम्रौनगढ ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक नगरी हो । अहिले विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्ने क्रममा विभिन्न स्थानहरूमा श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिर, एक हजार वर्षभन्दा पुराना पुरातात्त्विक सम्पदाहरू फेला परिराखेको छ,” उनले भने, “तसर्थ, म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐनअन्तर्गत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । र, विश्व सम्पदा सूचीमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु ।”

Tags :
प्रतिक्रिया दिनुहोस