काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थको लागि कुनै पनि सम्झौता नगरी दृढताको साथ लागेर अन्तिम समयसम्म संघर्ष गर्ने बताएका छन् ।
बुधवार माओवादी नेता धनी राम पौडेलको चौथो स्मृति दिवसमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारीको विरुद्धमा सुरुआत बाटै विभिन्न चुनौतीको समना गर्दै आएकोले कुनै सम्झौता नगरी अन्तिम सम्म लडाई लड्ने बताए ।
उनले भने,‘थुप्रै जटिलताको बीचमा हामी दृढतको साथ अगाडी बढेका छौ । म डिआर पौडेलको स्मृति दिवसमा के भन्न चाहन्छु भने,हामी कुनै सम्झौता गर्ने छैनौ । हामी अन्तिम समयसम्म संघर्ष गरिराख्ने छौ ।’
उनले लामो समय संघर्ष गरेर ल्याएको परिवर्तन र उपलब्धि प्रति दक्षिणपन्थी कोणबाट प्रहार भइरहेको भन्दै परिवर्तनको रक्षा गर्नुपर्ने मुख्य जिम्मेवारी आफ्नो काँधमा रहेको बताए ।
‘तपा हामीले देख्या छौ,केही वर्ष देखि यो संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रणालीमाथि प्रहार भइरहेको छ,दक्षिणपन्थी,प्रतिक्रान्तिकारी कोणबाटै भइरहेको छ । त्यसको रक्षार्थ हामीले प्रतिवाद गर्न विभिन्न खाले सहकार्य गठबन्धन बनाउँदै आयौँ । यो परिवर्तनको रक्षा मात्रै हैन सुदृढ गर्ने र जनतालाई महसुस हुने गरी परिवर्तनको निम्ति संघर्ष गर्ने शक्ति नै जनता र राष्ट्रको पक्षमा इमान्दार र परिणाम दिन सक्ने हुन्छन् भनेर हामीले साबित गर्नुपर्ने छ ।’ दाहालले भने ।
त्यस्तै, उनले सुशासन, सामाजिक न्याय र विकासको लागि दृढतापूर्वक काम गरिरहेको दाबी गर्दै जनता र राज्यको लागि इमान्दार परिणाममुखी शक्ति साबित गर्नुपर्ने आवश्यकता रहेको समेत औँल्याए ।