भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ ।

आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना यात्रु ओरालेर काठमाडौँका लागि उडान भरेको नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए । मलेसियामा रोजगारी गरी फर्केका र मलेसियाका पर्यटन व्यवसायीहरू भैरहवा विमानस्थलमा ओर्लिएको सहप्रवक्ता घिमिरेको भनाइ छ ।

भैरहवास्थित यस विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र राज्यमन्त्री सुशीला शिर्पालीले विमानस्थलमा स्वागत गरे ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको शुभारम्भ गर्दै पर्यटन मन्त्री सुदन किरातीले यसको निरन्तरता चुनौतीपूर्ण भएको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनमा व्यावसायिक उडान सुरु भएकाले यसको नियमितताका लागि सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने बताए ।

उनले नेपाल एयरलाइन्सलाई आगामी दिनमा स्थायित्व, प्रभावकारी सञ्चालन र बजारीकरणका लागि प्रचारप्रसारमा जोड दिन निर्देशन दिए । ‘बुद्ध सर्किटकै बजारीकरणका लागि यो विमानस्थल निर्माण भएको हो । भैरहवाबाट पनि जहाज उडान सकिन्छ भन्ने विश्वास दिलाउनु पर्छ’, उनले भने, ‘यस विमानस्थलबाट दिल्लीलगायत अन्य गन्तव्यमा पनि उडान गर्ने प्रयास जारी छ ।’

मन्त्री किरातीले निगमलाई पूर्ण व्यावसायिकरुपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले निगमका लागि पारदर्शी ढङ्गले जहाज किन्ने प्रक्रियामा रहेको बताए । उनले दुर्गम क्षेत्रमा सेवा दिनका लािग घाटा भए पनि जहाज किन्नुपर्नेमा जोड दिए ।

मन्त्री किरातीले प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमण इतिहासमा कोशेढुङ्गा साबित भएको बताउँदै यस्तो ऐतिहासिक सफलतालाई ओझेलमा पार्ने प्रयास भएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला श्रीपालिले लुम्बिनी प्रदेशको पहिचान, धरोहर, बुद्धलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विमानस्थल निर्माण भएकाले यसको नियमित व्यावसायिक सञ्चालनमा सरकारको जोड रहेको बताए ।

उनले विमानस्थल नियमित सञ्चालन नहुँदा धेरै तर्फबाट प्रश्न उठेको बताउँदै सञ्चालन निरन्तरता हुन नसक्नुमा राजनीतिक अस्थिरतापनि मुख्य रहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं ३ का सङ्घीय सांसद दीपक बोहोराले राष्ट्रिय ध्वजावाहक जहाजले व्यावसायिक उडान सुरु गर्दा गौतमबुद्ध विमानस्थलको प्रभावकारी सञ्चालन हुनेमा आशा पलाएको बताए । उनले त्रिभुवन विमानस्थलबाट हुने हरेक अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई एक–एक उडान भैरहवाबाट गर्नुपर्ने नीति बनाउन सरकारलाई सुझाव दिए ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले मलेसिया उडानको सुरुआत हुनु महत्त्वपूर्ण उपलब्धि रहेको बताए । उनले महेन्द्रनगर नाकाबाट अवतरण गर्ने प्रक्रियाका लागि सरकारका तर्फबाट प्रयास भइरहेको बताउँदै अन्य विमान सेवा कम्पनीलाई यस विमानस्थलबाट उपलब्ध हुने सेवा र रुटसँग सम्बन्धित विषयमा आश्वस्त पार्नुपर्ने बताए ।

सचिव अधिकारीले भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको मागबमोजिम आगामी आर्थिक वर्षदेखि भैरहवामा पर्यटन बोर्डको शाखा स्थापना गरी सेवा सञ्चालन हुने जानकारी दिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगममा जहाज थपिएपछि व्यावसायिक रूपले नियमित उडान गर्न सकिने बताए । उनले लुम्बिनीबाट बुद्ध धर्मावलम्बी भएका मुलुकलाई जोडन भैरहवाको उडानलाई नियमित गर्नु आवश्यकता रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेश संयोजक कृष्णप्रसाद शर्माले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन हुन नसक्दा निजी क्षेत्र विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरे । विमानस्थल निर्माण गर्दा सरकारले रु ४० अर्ब र विमानस्थललाई हेरेर निजी क्षेत्रले रु ८० अर्बभन्दा बढी लगानी गरेको उनको भनाइ छ ।

विसं २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । तत्कालीन समयमा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान भने कुवेतको अल जजिरा एयरलाइन्सले गरेको छ । जजिरापछि हिमालय एयरलाइन्सले कात्तिकमा मलेसियाको चार्टर उडान गरे पनि हाल यी दुवै कम्पनीका जहाजले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिन सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस