गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश श्रेष्ठको इजलासमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश श्रेष्ठको इजलासमा


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । गौर हत्याकाण्डसम्बन्धी रिटमा आज सुनुवाइ हुँदैछ ।

गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै पीडितका तर्फबाट त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सो रिट निवेदन वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको हो । २०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।

हत्यामा फोरमसम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो । हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडितका परिवार तथा आफन्तले गत जेठ २१ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दाको पेसी जेठ २२ गते न्यायाधीश कुमार रेग्मीको इजलास, जेठ २५ गते न्यायाधीश प्रकाशमान सिंह राउत, जेठ २६ गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याउने’मा परेको थियो । त्यसैगरी जेठ २९ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको उक्त रिट बेञ्च नबसेको कारण स्थगित भएको थियो । त्यसपछि मंगलबार वरिष्ठतम् न्यायाधीश श्रेष्ठको इजलासमा उक्त रिट परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस